Friday, August 24, 2012

स्वतन्त्रता संग्रामी जङ्गवीर सापकोटा




clip_image001       भारतका सपूत जङ्गवीर सापकोटाको जन्म धजे कमान, सुकेपोखरीमा २ जुलाई, १८८२-मा भएको थियो। उहाँको बाल्यकाल कमानमै घाँस-दाउरा गर्दै बित्यो। कमानमा प्राथमिक स्कूलसम्मको शिक्षा लिनुभएथ्यो। सानै उमेरमा ब्रिटिसको क्रूर हुकुमती शासन देख्दा उहाँको कलिलो हृदयमा विद्रोहको आगो सल्किएको हुनुपर्छ, फलतः स्वतन्त्रता संग्रामले हृदय आकृष्ट भयो।  १९१५ सालमा श्री मोहनदास करमचन्द गान्धी दक्षिण अफ्रिकाबाट स्वदेश फर्केका समय ब्रिटिस शासनको अत्यचार, अन्याय, प्रशासनिक दुर्व्यवहारदेखि विरक्त भएर तड़पिरहेका थिए - जङ्गवीर सापकोटा। १९२० सालतिर दलबहादुर गिरीको नेतृत्वमा उहाँले उन्मक्तिको बाटो पाए। त्यसपछि मृत्युले न अँगालुन्जेलसम्म आफ्नो सिद्धान्तबाट कहिल्यै विमुख भएनन्। उहाँ एक साँचो देशभक्त, देशसेवक निःस्वार्थ भावका कांग्रेस सदस्य हुनुहुन्थ्यो। जङ्गबीर सापकोटाको निर्भीकता, कर्तव्यनिष्ठा र देशभक्तिको भाव राष्ट्रपिता महात्मा गान्धीजीसित मिल्लदोजुल्दो हुँदा पछि उहाँलाई 'पहाड़े गान्धी बाजे' भनी सम्बोधन गरिनथाल्यो। उहाँ महात्मा गान्धीका एक कट्टर अनुयायी हुनुहुन्थ्यो अनि धेरै चोटि जेल जानुभयो। गान्धीजीको खादी वस्त्र प्रयोग आन्दोलनको जङ्गवीर सापकोटामा गहिरो छाप बसेको थियो। उहाँकै सक्रियतामा १९४२ सालतिर कालेबुङको मेनरोडस्थित जेठमल भोजराजको दोकान भएको भवनमा एउटा खादि प्रतिष्ठान 'अभय आश्रम' केन्द्र स्थापना भएको थियो। यस केन्द्रको आँगनमा बसेर चर्खामा धागो कात्ने काम पनि गर्नुहुन्थ्यो। कालेबुङ भेकका गाउँ-बस्तीतिर एक्लै वा साथीवर्गसित डुलेर मानिसहरूमा भारत स्वतन्त्रता संग्रामप्रति चेतना जगाउनुहुन्थ्यो। कालेबुङमा कुनै कांग्रेसी सभा गर्नुपरे सेतो खद्दरको वस्त्र धारण गरी, गान्धी टोपी लगाई जङ्गवीर सापकोटा आफै ढोल बजाएर सूचना दिनुहुन्थ्यो।      तिरङ्गा झण्डाप्रति जङ्गवीर सापकोटाको समर्पण अति विशाल थियो। कालेबुङ खादी केन्द्रको भवानमा तिरङ्गा झण्डा फहराइएको हुन्थ्यो। एकदिनको घटनाक्रममा महकुमा अधिकारीको आदेश बमोजिम त्यो तिरङ्गा उतार्नेहुकुम भयो। यस आदेशलाई सुन्नेबित्तिकै जङ्गवीर सापकोटा रिसले आगो हुनुभयो अनि भन्नुभयो "कसैले यो तिरङ्गा झण्डा उतार्न पाउने छैन। बरू कसैले मेरो छातीमा गोली चलाओस् तर म झण्डा झार्न दिने छैन"। यो चट्टानरूपी समर्पण कति महान् थियो उहाँको।१९४० सालतिर रामगढ़मा कांग्रेसको सम्मेलनमा, १९४६ -मा महात्मा गान्धीको नवाखालीको पदयात्रामा, साबरमती आश्रममा गरिेएको अनसनमा भाग लिई राष्ट्रिय स्तरका नेतासित आत्मीयता आर्जन गर्नुभएथ्यो। भारतवर्षका महान् व्यक्ति महात्मा गान्धी, प. जवाहरलाल नेहरू, कविगुरू रवीन्द्रनाथ ठाकुर, डा. कैलाशनाथ काट्जु, राजा गोपालचारी लगायत प्रायः सबै नेतासित उहाँको व्यक्तिगत चिनाजाना थियो।जङ्गवीर सापकोटा एक अदभूत व्यक्तित्व भएका सत्यप्रेमी, कर्मनिष्ठ, गान्धीवादी, देशभक्त, समाजसेवी, स्वाधीनता पुजारी, निर्भीक, असलवक्ता, सुगठित शरीर, लामो दाह्री, खादी वस्त्र र सेतो गान्धी टोपीधारी 'पहाड़े गान्धी बाजे' नै हुनुहुन्थ्यो। भारत स्वतन्त्र भएको साड़े सोलह वर्षको उमेरमा स्थानीय कालेबुङ अस्पतालमा १८ जनवरी, १९६४ -का दिन उहाँको स्वर्गवास भयो।       यिनै भारतका सपूत, महात्मा गान्धीका अनुयायी, चाचा नेहरूका सहयोगी एंव पहाड़े गान्धीका नाँउले प्रचलित भारतका स्वतन्त्र संग्रामी - जङ्गवीर सापकोटा १९२९ सालतिर कालेबुङ विश्वकर्म समाजका मूल-सचिव पदाधीकारी पनि हुनुहुन्थ्यो। उहाँमा हाम्रो भावपूर्ण श्रद्धाञ्जली अर्पण।


Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...