Monday, September 17, 2012

समाजिक चेतना र हाम्रो दायित्व

व्यापक अर्थमा समाज भन्नाले एउटै रहन सहन, व्यवस्था, धर्म आदि अँगाल्ने वा एउटै स्थानमा बसोबासो गर्नेमानिसहरूको समूहलाई अर्थात् कुनै विशेष उद्देश्य लिएर सङ्गठन गरिएको संस्था वा सङ्घ बुझिन्छ। त्यसैले विचार, विवेक र जिज्ञासाको प्राधान्यले गर्दा यस संसारको प्राणी जगतमा मनुष्य एक विशिष्ट सामाजिक प्राणी भएकोले समाजबिना मानिसको अस्तित्वको कल्पना गर्नसकिन्न। कुनै पनि व्यक्ति वा परिवार आफू मात्र कहिल्यै पनि परिपूर्ण र सन्तुष्ट हुनसक्तैन। व्यक्तिले वास्तवमा समहूमा नै बसेर केही असल कार्यहरू गर्नेइच्छा र आकांक्षा राख्दछ। भौतिक जगतमा आफूलाई चाहिने विलासका कतिपय वस्तुहरू र वैभव प्राप्तिले आफू र परिवार सन्तुष्ट भए पनि समाजबिना बाँच्नुपर्दा धेरै कुराहरूको अभाव र अप्रप्तिले उ सदैव छट्पटाइरहेको हुन्छ। अतः समाज वा सङ्घ मानिसहरू एकत्रित भएर विभिन्न लक्ष्य प्रप्ति र सुरक्षाको निम्ति साङ्गठनिक रूपले कार्य गर्दछन्।

भारतवर्ष स्वतन्त्र हुनअघि नै सन् 1924 सालमा दार्जीलिङमा विश्वकर्म समाज र त्यसपछि कालेबुङ, खरसाङ आदि स्थानहरूमा पनि हाम्रो विश्वकर्म जातिका दूरदर्शी पूर्खाहरूले संस्था स्थापित गरेका थिए। मुख्यतः त्यसबेला त्यस्तो कुनै सामाजिक वहुउद्देश्य नभए पनि तत्कालीन समग्र नेपाली समाजमा देखा परेका छुवाछुत, भेदभाव र सङ्कीर्ण विचारधारालाई रोकथाम गर्न र आफ्ना स्वजातिहरूका सुरक्षाको निम्ति आवश्यकता अनुभव गर्दै समाज गठन गर्नेकाम सराहनीय थियो। यसको छुट्टै ऐतिहासिक महत्त्व रहिआएको छ। विशेष त्यसबेला संस्थाको कुनै लिखित संविधान नभए पनि कुनै एउटा कोठमा भेला भएर मानिसहरू आ-आफ्ना सुख-दुःखका कुराहरू गर्थेअनि सदस्यता शुल्क लिनुपर्नेकुनै बाध्यता र नियम पनि थिएन। रूचि राखेर जो-जो हाम्रो समाज भन्दै आए अनि आफूले भ्याएसम्म र जानेजतिका कार्यहरू गर्दै गए।

स्वतन्त्रता प्रप्तिपछि भारतीय संविधानअनुसार अनुसूचित जातिहरूलाई जातिहरूलाई विभिन्न संवैधानिक सहुलियतहरूका प्रावधान हुन थालेपछि आफ्नो स्वजातिको समाजलाई त्यस बेलाका मानिसहरूले यसलाई अझ जगेरा गर्दै दह्रिलो बनाउदै लानुपर्छ भन्ने सद्भावना लिएर विभिन्न कार्यहरू गर्दै हिँड़े। विश्वकर्म समाज –का ती संस्थापक सदस्यहरूका उक्त दूरदर्शितार स्वजातिप्रतिको मायाले गर्दा हुँदो नै यो आजसम्म नै जीवित अवस्थामा रहेको पाइन्छ। यसरी त्यस बेलाका अशिक्षित बूढ़ापाकाहरूले साङ्गठनिक ज्ञानको अभावमा स्थापित गरिदिएको उक्त संस्था आजका जोशिला युवाहरू, अनुभवी कार्यकर्ता र सक्रिय सदस्यहरूको अभावमा धेरै वर्षसम्म एउटा कोठमा मात्र सीमित रह्यो। आफ्नो संस्था सम्झी धेरै स्वजातिका मानिसहरू सदस्यता लिएर आए पनि सक्रिय भएर इमानदारीपूर्वक कार्य गर्नेमानिसहरू थोरै मात्र देखा परे। संस्था निष्क्रिय रहनुमा यसरी हाम्रै मानिसहरूको लापरवाही र असहभगिता रहेको कुरो एउटा यथार्थ स्थिति थियो।

आजको अस्त-व्यस्त जीवनमा सामाजिक चेतनाले सबैलाई झक्झकाएको छ। यद्दपि अग्रसर भएर निस्वार्थ भावले अघि आएर कार्य गर्नेअनुभवी व्यक्ति र युवक-युवतीहरूको अभाव रहेको पाइन्छ।

एक्काइसौं शताब्दी गतिशील र विकसित वर्तमानमा आफ्नो स्वजातिको समाजलाई अझ बढ़ो जगेरा र संरक्षण गर्दै लानुपर्ने दायित्व हामीलाई आएको छ। पूर्खाले गठन गरिदिएको नेपाली अनुसूचित जातिको समाज (विश्वकर्म समाज) –लाई आजको शिक्षित नव-पिढ़ीले सम्हालेर जातिय सम्युत्थानको निम्त विभन्न कार्यहरू गर्दै लाने बेला आएको छ। केवल आरक्षणको निम्ति र अनुसूचित जाति प्रमाण-पत्र सिफारिशको निम्ति मात्र हाम्रो समाज हो भन्ने तुच्छ र नकारात्मक विचार नराखेर समाजलाई आफ्नै पारिवारिक घरझैं सम्झेर सबै नै सक्रिय भएर अघि आउने कर्तव्य हो। अन्य जातिका सङ्घ-संस्थाहरू आज आर्थिक रूपले पनि सशक्त भएर विभिन्न योजनावद्ध कार्यहरू गर्दै अघि बढ़्दैछन् तर अफसोस, हाम्रो संस्था चाहिँ आर्थिक कष्ट र समाजिक कोषको अभावमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्नदेखि वच्ञित हुनुपर्दछ। प्रत्येक घरका विश्वकर्महरू नै सदस्य भएर आर्थिक सहयोग पनि पुऱ्याएको खण्डमा समाज आर्थिक रूपले पनि सम्पन्न हुने थियो।

संसारमा समृद्धिशाली जातिको एकमात्र आधार एकता हो। एकता नै त्यो शक्ति हो जसको समक्ष खण्डित शक्तिको पराजय निश्चित छ। अतएव वर्तमान र मविष्यका पिढ़ीहरूलाई उचित मार्गदर्शन दिन र अन्तरहृदयमा भएको हीनताबोध र त्रासको भावनालाई सदैव दूर गर्न साङ्गठनिक एकताको आवश्यकता छ। यही उद्देश्य र मूलमन्त्रलाई आत्मसात् गरौं।

-जतीश बराइली, दार्जीलिङ

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...