Sunday, September 9, 2012

विश्वकर्म समाज अनि अभिव्यक्ति


सुश्री अञ्जु घिमिरे
हाम्रो दृष्टि
       कालेबुङ विश्वकर्म समाज दीर्धकाल 1926 -सालमा स्थापित भएपछि आफ्नो कर्म परिधिभित्र विश्वकर्म समुदायको हितप्रति अनेकौं कार्य गर्दै प्रगतिको पथमा लम्किरहेछ। समाजको पूर्वकालमा पुरूष सदस्यवर्गको सङ्ख्या शत-प्रतिशत थियो भने नारी सदस्याको सङ्ख्या प्रायः शून्य थियो। समयको चहानाबमोजिम कोक्रो हल्लाउने हातले विश्व हल्लाउन सक्ने नारी-शक्तिको कथनलाई चरितार्थ तुल्याउन वर्तमान विश्वकर्म समाजमा नारी
सदस्याको सहभगिता अनिवार्य हुँदछ। एउटी नारी गृहणी बनेर घरको यश, सम्मान, शान्ति, समृद्धि ल्याउनमा प्रमुख भूमिका खेल्न सक्छे भने घरबाहिर समाज, देश, राष्ट्र, विश्वमा पनि उत्तिकै प्रमुखता प्राप्त गर्नसक्छे। अमर वाणीमा भनिएको छ जुन घर, समाज अनि जातिमा नारीको सम्मान, श्रद्धा अनि मर्यादाको रक्षा हुन्छ त्यस घर समाज अनि जातिमा शान्ति, समृद्धि अनि दिव्यानन्द हुन्छ। भारतवर्षका सशक्त नारी सरोजनी नाइडू, रानी लक्ष्मीबाई, इन्दिरा गान्धी, प्रतिभा पाटिल, किरण वेदी, बच्छेन्द्री पाल, लता मङ्गेश्कर, आशा भोंसले, पि. टि. उषा इत्यादि कति सद्गुणले वास गरे बापत्
भारतवर्षले आफ्नो गर्व अनि मर्यादा शिखरमा पुऱ्याउन सकेको छ। उनीहरूको देशप्रतिको भूमिका अवर्णनीय छ। नारी भूमिकाका सन्दर्भमा अन्य कथन भन्नु हो भने विभिन्न परिस्थितिमा नारीको रूप कैयन् हुन्छन्। एउटा शिशुको जन्म हुँदा उसलाई समात्ने नारी आमा हुन्छे, जब बालक पाठशाला जान्छ उसलाई पढ्नमा सहायता गर्नेनारी शिक्षिका हुन्छे, जब जवान पुरूष मानसिक कष्टले ग्रस्त हुन्छ उसलाई साथ दिने नारी पत्नी हुन्छे, जब एउटा माइतिलाई दीर्घायुको कामना चाहिन्छ ऊ नारी चेली हुन्छे अनि एउटा सिपाही रणभूमिमा मरे उसलाई काखमा लिने नारी मातृभूमि हुन्छे। नारीका यस्तै भूमिकामाथि आफ्नो अभिव्यक्ति समेटेर आफ्नो समुदयका, माया, सेवामा आफूलाई विश्वकर्म समाजमा धेरै दिनदेखि समर्पित गरेकी छु साथै अरू दिदि-बहिनीलाई पनि समाजमा समर्पित हुने सुझाउ दिन्छु। वर्तमान विश्वकर्म समाज, कालेबुङमा नारी सदस्याको सहभगिता सङ्ख्यामा वृद्धि भएको देख्न पाउँदा खुशी व्यक्त गर्दछु।

        वर्तमान विश्वकर्म समाज, कालेबुङले आफ्नो कार्यसूची अन्तर्गत अनेकौं सुकार्य, सेवा-कार्य गरिरहेको अनि आफूलाई पनि त्यस्ता कार्यमा सहभागिता जनाउने सौभाग्य पाउँदा हृदय सन्तुष्टि मिलेको आभास भइरहेछ। विश्वकर्म समाज, कालेबुङले गत 2010 -को फूलपाती शोभायात्रामा एकतर्फ सहभगिता जनाउँदै अर्कोतर्फ संस्कृति, भेषभूषाको संरक्षण कार्य गरेको पाउँछु। विश्वकर्म पूजा र देउसी आयोजना गरेर हाम्रो परम्परा कायम गरेको पाउँछु भने वनभोज आयोजन गरेर सदस्य-सदस्यामा मनोरञ्जन, मित्रता र एकता झल्काएको पाउँछु। भाग्यपरीक्षा खेल आयोजन गरेर समाजको कोष वृद्धि गरेको पाउँछु। अग्नि पीड़ित परिवार, मृत्यु घर-परिवार, बिमारीको घर-परिवार इत्यदिमा सेवाकार्य, संवेदना प्रकट गरेको पाउँछु। महिनाको प्रत्येक पहिलो आइतबार कोठे सभा गरेर समाजप्रति रूचि, भेटघाट, मन्तव्यको सुयोग प्रदान गरेको पाउँछु। अर्द्ध वार्षिक सभा गरेर समाजले कोष सञ्चय र अन्त विषयको पारदर्शिताको परिचय दिएको पाउँछु। यसै क्रममा समाजले आफ्नो 2011 -को वार्षिक सभा कालेबुङको सुप्रसद्ध भवन टाउन हल (रामकृष्ण रङ्गमञ्च) -मा विविध कार्यक्रम मेधावी विध्यार्थीका संवर्द्धना, पत्रिका (हाम्रो दृष्टि) -को विमोचन, वक्तव्य अनि सांस्कृतिक कार्यक्रम समावेश गरेर भव्य रूपमा मनाएकोमा थियो। विश्वकर्म समाज, कालेबुङको प्रगति साथै सदस्य-सदस्यावर्गमा एकता, मित्रताको कामना राख्दै समाजप्रतिको मेरो अभिव्यक्तिलाई यहीँ विश्राम दिँदैछु।


सुश्री अञ्जु घिमिरे, हाम्रो दृष्टि

Leave your comment...
आफ्नो प्रतिक्रिया लेख्नुहोस..

Related Posts Plugin for WordPress, Blogger...